क्षमता अभिबृद्धिमा मन्त्री साहको जोड

काठमाडौं अषाढ ८, २०७४। शहरी विकास मन्त्री मा. श्री प्रभु साह ज्युले सरकारी निकायले विकास बजेट खर्च नगरेकोमा क्षमतामाथि नै प्रश्न चिन्ह उठ्ने गरेकोमा असन्तुष्टि ब्यक्त गर्दै विकास बजेटको सही सदुपयोग हुनुपर्ने र खर्च गर्ने क्षमता बृद्धिमा जोड दिनु पर्ने बताउनु भएको छ ।
कतिपय दातृ निकायले सरकारी निकायको खर्च गर्ने क्षमता कमजोर छ भन्ने आरोप लगाउने गरेकोप्रति इगिँत गर्दै उहाले सो कुरामा जोड दिनु भएको हो । ‘बजेट बिनियोजन गर्दा कम बजेट भयो भन्ने तर बिनियोजित बजेट खर्च नहुने गरेको छ । भौतिक पुर्वाधार र शहरी विकासको क्षेत्रमा प्रतिफल देखिने गरी निर्धारित समयमा काम गर्ने लक्ष्य राख्ने हो भने यस्तो प्रश्न उठदैन ।’ मन्त्री साहले भन्नुभयो ।
२०६६ सालमा भएको ठेक्का पनि ९० प्रतिशत या त्यस्तै तथ्याँक प्रस्तुत गरेर निर्माणाधिन भन्ने प्रस्तुतीहरु अब नगर्न आग्रह गर्दै उहाँले समय र लक्ष्य अनुसार काम गर्न मन्त्रालय मातहतका निकायहरुलाई निर्देशन दिनुभएको छ ।
बिहीबार अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिमा आयोजित मन्त्रालय मातहतका बिभिन्न निकायको जानकारी लिने क्रममा मन्त्री साहले हिजोको बागमती र आजको बागमतीमा उल्लेख्य काम भए पनि गौरब गर्ने गरी सफा र सुन्दर बागमती बनाउन सम्बन्धित निकायले मेहिनेत गर्नुपर्नेमा जोड दिनुभयो ।
‘समस्याको पहिचान गरी तिब्र गतीमा काम अघि बढाउनुस । म मन्त्रालयका निकायदेखि अन्य निकायमा समन्वय गरेर सबै प्रकारको सहयोग गर्न तयार छु । तर बिभिन्न बहानामा काम टार्ने प्रबृत्ति भने सैहय हुदैन ।’ उहाँको भनाई थियो । कार्यक्रममा उहाँले संयुक्त राष्ट्रसँघ पार्क विकास समितिको काम कारबाहीप्रति असन्तुष्टि ब्यक्त गर्नुभयो । सुकुम्बासीको समस्याको कारण समितिले काम कारबाही गर्न नसकेको आफुले बुझेको जानकारी गराउदै उहाँले सुकुम्बासी नबसेको खाली जग्गा समेत भोगचलन गर्न र विकास कार्य अघि बढाउन नसक्नुमा सम्बन्धित निकायकै कमजोरी हुने धारणा ब्यक्त गर्नुभयो ।
मुद्दा मामिलाको कारण समिति निस्क्रिय भएको हो भने त्यसलाई सुधार गर्ने गरी अघि बढनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा बिभिन्न निकायका अधिकारीहरुले आ–आफ्नो निकायमा भएको काम कारबाहीबारे जानकारी गराएका थिए ।
बिहीबार नै मन्त्री साहले गुह्येश्वरीस्थित ढल प्रशोधन केन्द्र र बागमती नदीको गुह्येश्वरी–गोकर्ण खण्डको निरीक्षण समेत गर्नुभएको थियो ।

Leave a Reply